आईसीसी विश्वकप लिग–२ मा नेपाल र नेदरल्यान्ड्स भिड्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय शृङ्खलामा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
शृङ्खलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यमा छ । नेपालले शृङ्खलाको तेस्रो खेल साउन ११ गते नामिबियासँग तथा साउन १३ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।
लिग–२ को अंकतालिकामा नेपाल र नामिबियाको समान २४ अंक छ । राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैटौँ स्थानमा छन् । ३२ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा रहेको छ ।
अमेरिका अंकतालिकाको शीर्ष स्थानमा छ भने स्कटल्यान्ड दोस्रो र ओमान चौथो स्थानमा छन् । विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र पर्नुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण बनेका छन् ।
लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेल्नेछन् । नेपालले अब सात खेल खेल्न बाँकी रहेकाले शीर्ष चारमा पुग्न जित आवश्यक छ । यद्यपि, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न भने शीर्ष ६ भित्र रहनुपर्नेछ ।










