बारामा ग्यास लिक भएर आगलागी, खाना पकाउँदै गरेका युवक घाइते
२०८३ श्रावण ४, सोमबार १६:२६ गते
बारा । बाराको प्रसौनी गाउँपालिका–५ बहुअरी टोलमा खाना पकाउने क्रममा एलपीजी ग्यास लिक भई आगलागी हुँदा एक युवक घाइते भएका छन्।
घाइते हुनेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ निवासी ३३ वर्षीय महेश पटेल रहेका छन्। उनी प्रसौनी गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार राति खाना पकाउने क्रममा अचानक ग्यास चुहावट भएपछि आगो सल्किएको थियो। आगोले उनको सर्ट समातेपछि अनुहार, छाती, ढाड तथा दुवै हात जलेका छन्।
घाइते पटेललाई तत्काल उपचारका लागि पर्सास्थित गण्डक अस्पताल लगिएको छ। अस्पतालका अनुसार उनको अवस्था मध्यम रहेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।










