बारामा धान खेतको पानीमा डुबेर १८ महिने बालिकाको मृत्यु
बारा । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर एक १८ महिने बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ बलुवा निवासी राजेन्द्र महतोकी १८ महिने छोरी लालु कुमारी महतो रहेकी छन्। उनी केही दिनका लागि मामा घर आएकी थिइन्।
प्रहरीका अनुसार आइतबार साँझ करिब ५ः३० बजे मामा घर पछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा बालिका अचानक डुबेर बेहोस भएकी थिइन्। घटनापछि उनको शव मामा घरमा ल्याइएको जानकारी साँझ ६ः१५ बजे प्रहरी चौकी बड्कीफुलबरियामा पुगेको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रामविध्या साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक सुरक्षा तथा प्रारम्भिक अनुसन्धान गरेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा मुचुल्का टोली खटिएर कानुनी प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।










