बाराको कोल्हवीमा रेबिजको भयावह अवस्था:आ.व०८२/८३ मा मात्रै ४७९ संक्रमितले लिए उपचार
कोल्हवी(बारा)। बाराको कोल्हवी क्षेत्रमा रेबिजको जोखिम बढ्दो क्रममा देखिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा मात्रै कोल्हवी क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाबाट ४७९ जना रेबिजको जोखिममा परेपछि उपचार तथा रेबिजविरुद्धको खोप सेवा लिएको तथ्यांकले अवस्था चिन्ताजनक रहेको देखाएको छ।
उपलब्ध तथ्यांकअनुसार प्राथमिक स्वास्थ्य केन्द्र, कोल्हवी–१ मा सबैभन्दा बढी ३२० जना ले रेबिजविरुद्धको उपचार तथा खोप सेवा लिएका छन्। त्यसैगरी तामागढी हस्पिटल प्रा.लि. मा १३९ जना र जननायक सामुदायिक अस्पताल मा २० जना गरी कुल ४७९ जना ले उपचार गराएका हुन्।
स्वास्थ्यकर्मीहरूका अनुसार अधिकांश बिरामी कुकुरको टोकाइबाट प्रभावित भएका छन् भने केही घटना बिरालो तथा अन्य जनावरको टोकाइसँग पनि सम्बन्धित छन्। समयमै अस्पताल पुगेर रेबिजविरुद्धको खोप लगाएकाले गम्भीर मानवीय क्षति हुन नपाएको जनाइएको छ। यस्तो उच्च संख्याले कोल्हवी क्षेत्रमा छाडा कुकुरको समस्या र जनचेतनाको अभावलाई स्पष्ट रूपमा उजागर गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार बजार क्षेत्र, विद्यालय वरपर, सार्वजनिक सडक तथा बस्तीहरूमा छाडा कुकुरको संख्या बढ्दै गएको छ। विशेषगरी बिहान र साँझको समयमा विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक तथा पैदल यात्रुहरू बढी जोखिममा पर्ने गरेका छन्। पछिल्ला महिनाहरूमा कुकुरले मानिसलाई लखेट्ने तथा टोक्ने घटनामा वृद्धि भएको स्थानीयको गुनासो छ।
स्वास्थ्य विज्ञहरूले रेबिजलाई लक्षण देखिएपछि लगभग शतप्रतिशत ज्यान जाने रोगका रूपमा व्याख्या गर्दै कुनै पनि जनावरले टोकेपछि घाउलाई साबुनपानीले राम्रोसँग धुने र तुरुन्त स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको सल्लाहअनुसार रेबिजविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। उपचारमा ढिलाइ गरे रोगको जोखिम अत्यन्त बढ्ने उनीहरूको चेतावनी छ।
स्थानीय सरोकारवालाले भने रेबिज नियन्त्रणका लागि उपचार सेवा मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूका अनुसार छाडा कुकुरको व्यवस्थापन, घरपालुवा कुकुरको नियमित खोप, समुदायमा जनचेतनामूलक अभियान सञ्चालन तथा स्थानीय तह, पशु सेवा कार्यालय र स्वास्थ्य संस्थाबीच समन्वय आवश्यक छ।
कोल्हवी नगरपालिकाले रेबिज नियन्त्रणलाई प्राथमिकतामा राखी पशु स्वास्थ्यसम्बन्धी कार्यक्रम प्रभावकारी बनाउनुपर्ने माग स्थानीयवासीले गरेका छन्। विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन, छाडा कुकुरको बन्ध्याकरण र नियमित रेबिजविरुद्धको खोप अभियान सञ्चालन गर्न सके मात्र यस्तो जोखिम न्यूनीकरण गर्न सकिने उनीहरूको धारणा छ।
गत आर्थिक वर्षमै ४७९ जना रेबिजको जोखिममा परेर उपचारका लागि स्वास्थ्य संस्थामा पुग्नुपरेको तथ्यांकले कोल्हवी क्षेत्रमा रेबिज नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ।
सम्बन्धित निकायले समयमै रोकथाम, नियन्त्रण र जनचेतना अभिवृद्धिमा ध्यान नदिए आगामी वर्षहरूमा यो समस्या अझ जटिल बन्न सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरूको चेतावनी छ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्हवीका अनुसार यस बर्षको लागि मात्र २५०० भाईल खोप मधेश प्रदेश सरकार सङ माग गरिएको जानकारी गराएको कोल्हवी न्युज लाई बताएको छ।
केही हप्ता अघि मात्र कोल्हवी नगरपालिका वार्ड न.४ को प्रगतिनगरमा केही भैंसी लाई र मान्छे लाई समेत भुस्याहा बौलाहा कुकुरले आतंक मच्चाउन थालेपछी गाउँले त्रसित भएको र पटक पटक नियन्त्रण प्रयासका लागि सम्बन्धित निकायलाई जानकारी गराउदा समेत प्रभावकारी कदम नचालेको स्थानिय बम बहादुर कुवरले हामिलाई गुनासो गरेका थिए भने एक बर्ष अघि मात्र कोल्हवी वार्ड न.३ मा एक युवकको रेबिज संक्रमण बाट मृत्यु भएको थियो।










