सीमापार मदिरा तस्करीमा एसएसबीको ठूलो सफलता:२५५.६ लिटर नेपाली मदिरा बरामद, दुई भारतीय पक्राउ

कोल्हवी न्यूज
२०८३ श्रावण २, शनिबार १८:०० गते

रौतहट,नेपाल–भारत सीमामा भइरहेको मदिरा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले दुई छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा नेपाली मदिरा बरामद गर्दै दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

 

 

 

कारबाहीका क्रममा कुल ८५२ बोतल (२५५.६ लिटर) कस्तुरी ब्रान्डको नेपाली मदिरा तथा तीन वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। एक घटनामा भने तस्कर प्रहरी टोलीलाई देख्नासाथ फरार भएका छन्।

 

 

 

 

एसएसबी ७१ बटालियन मोतिहारीका अनुसार बिहीबार साँझ प्राप्त विशेष सूचनाका आधारमा ‘एफ’ कम्पनी अथमोहन र मोतिहारी एक्साइज विभागको संयुक्त टोलीले सीमा क्षेत्रमा विशेष गस्ती सञ्चालन गरेको थियो। साँझ करिब ६:३५ बजे सीमा स्तम्भ नम्बर ३५८/५ नजिक सैनिक रोड क्षेत्रमा गरिएको छापामार कारबाहीमा ४०२ बोतल (१२०.६ लिटर) कस्तुरी मदिरा र एउटा हिरो स्प्लेन्डर मोटरसाइकल बेवारिसे अवस्थामा बरामद गरिएको हो।

 

 

 

 

कारबाहीका क्रममा तस्करहरू सुरक्षा टोलीलाई देख्नासाथ मदिरा र मोटरसाइकल छाडेर फरार भएका थिए। प्रारम्भिक अनुसन्धानले उक्त मदिरा रौतहटको अमरपुर क्षेत्रबाट भारततर्फ तस्करी गरिएको देखाएको छ। बरामद सामग्री थप अनुसन्धानका लागि मोतिहारी एक्साइज कार्यालयलाई बुझाइएको एसएसबीले जनाएको छ।

 

 

 

 

यसैबीच, सोही राति करिब १०:३० बजे प्राप्त अर्को गोप्य सूचनाका आधारमा एसएसबीको ‘सी’ कम्पनी, बीओपी नायकटोला र बिहार प्रहरीको हरपुर प्रहरी चौकीको संयुक्त टोलीले भारतको टोला चिकनी क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गरेको थियो।
सीमा स्तम्भ नम्बर ३८७/२ बाट करिब ३.६ किलोमिटर भारततर्फ गरिएको चेकजाँचका क्रममा नेपालबाट मदिरा बोकेर जाँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका हुन्।

 

 

 

 

पक्राउ पर्नेहरूमा पश्चिम चम्पारण जिल्ला, मझौलिया थाना अन्तर्गत करमवा गाउँका ४० वर्षीय जयप्रकाश र ३३ वर्षीय अनिल कुमार रहेका छन्। उनीहरूको साथबाट ४५० बोतल (१३५ लिटर) कस्तुरी नेपाली मदिरा, बीआर–२२ बीई–४५५० नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकल तथा ना ९ प ६१५८ नम्बरको होन्डा शाइन मोटरसाइकल बरामद गरिएको एसएसबीले जनाएको छ।

 

 

 

 

प्रारम्भिक अनुसन्धानअनुसार उक्त मदिरा रौतहटको छतवा क्षेत्रबाट भारतको करमवा बजारतर्फ तस्करी भइरहेको थियो। बरामद मदिरा, मोटरसाइकल तथा पक्राउ परेका दुवै व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि हरपुर प्रहरी चौकीमा बुझाइएको छ।

 

 

 

सीमा क्षेत्रमा पछिल्लो समय मदिरा तथा अन्य वस्तुको अवैध ओसारपसार बढ्दै गएको भन्दै एसएसबीले तस्करी नियन्त्रणका लागि निगरानी र संयुक्त सुरक्षा अभियानलाई अझ प्रभावकारी बनाइएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*