गृहमन्त्री गुरुङकै नेतृत्वमा ठोरीका होटलमा छापा, ११ जना पक्राउ

कोल्हवी न्यूज
२०८३ श्रावण २, शनिबार ०७:३१ गते

गृहमन्त्री सुधन गुरुङले पर्साको ठोरीस्थित दुई होटलमा आफैँ उपस्थित भएर छापा मार्दा ११ जना पक्राउ परेका छन्। मिटरब्याज पीडितसँग भेटघाटका लागि बाराको सिमरा पुगेका गुरुङ काठमाडौँ फर्किने क्रममा प्राप्त सूचनाका आधारमा ठोरी बजारस्थित होटलमा पुगेका थिए।

बिहीबार साँझ गृहमन्त्रीको टोलीले ठोरी दोहोरी साँझ र रिसोर्ट तथा ठोरी क्याम्प फायर होटलमा निरीक्षण गरेपछि जिल्ला प्रहरी कार्यालय पर्सालाई जानकारी गराइएको थियो। त्यसपछि पर्साबाट प्रहरी टोली घटनास्थल पुगेर दुवै होटलमा संयुक्त रूपमा छापा मारेको थियो।

प्रहरीका अनुसार कारबाहीका क्रममा ११ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामध्ये सात जना महिला र चार जना पुरुष रहेका छन्। प्रारम्भिक अनुसन्धानका आधारमा होटलमा अनैतिक गतिविधि सञ्चालन भइरहेको आशंकामा कारबाही गरिएको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेका अधिकांश व्यक्तिमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ भने होटल सञ्चालकमाथि मानव बेचबिखन सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*