एआई नियमन गर्न अष्ट्रेलियाले नयाँ कानुन ल्याउने, प्रतिलिपि अधिकार सुरक्षामा जोड
अष्ट्रेलियाले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई व्यवस्थित बनाउन र सिर्जनात्मक सामग्रीको प्रतिलिपि अधिकार सुरक्षित गर्न नयाँ कानुन ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बनिजले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा एआईलाई राष्ट्रिय हितअनुकूल विकास गर्दै यसप्रति जनविश्वास बढाउने उद्देश्यले कानुनी व्यवस्था गर्न लागिएको बताएका हुन्।
प्रस्तावित कानुनबारे आगामी वर्ष राज्य तथा क्षेत्रीय सरकारका नेताहरूसँग विस्तृत छलफल गरिनेछ। सरकारले एआईको सुरक्षित प्रयोग, राष्ट्रिय सुरक्षाको संरक्षण तथा प्रविधिको जिम्मेवार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।
अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले एआई मोडेल प्रशिक्षणका लागि प्रतिलिपि अधिकारसम्बन्धी कानुन परिवर्तन गर्न अष्ट्रेलियाली अधिकारीहरूसँग छलफल गरेको विषय सार्वजनिक भएपछि सरकारले आफ्नो धारणा स्पष्ट गरेको हो। यस विषयमा लेखक, कलाकार, सङ्गीतकार र प्रकाशकहरूले आफ्नो सिर्जनात्मक सामग्रीको संरक्षण सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएका छन्।
प्रधानमन्त्री अल्बनिजले कलाकार वा सिर्जनाकर्ताको अनुमति बिना पुस्तक, सङ्गीत, कला वा समाचार सामग्री प्रयोग गरेर एआई प्रणाली विकास वा प्रशिक्षण गर्नु उचित नहुने बताएका छन्। उनले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्दै प्रविधि विकास गर्नुपर्नेमा जोड दिएका छन्।
सरकारी तथ्याङ्कअनुसार हालैका महिनाहरूमा डाटा सेन्टरमा भएको लगानीले अष्ट्रेलियाको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्याएको छ। यद्यपि एआईको विस्तारले रोजगारी क्षेत्रमा तत्काल नकारात्मक प्रभाव पारेको प्रमाण हालसम्म नदेखिएको प्रधानमन्त्री अल्बनिजको भनाइ छ।
सरकारले एआईसम्बन्धी नीति, नियमन र प्रभावको निगरानी गर्न विशेष संयन्त्रसमेत स्थापना गर्ने योजना अघि बढाएको जनाएको छ।










