नेपाललाई टी-२० विश्वकप यात्रामा राहत, २०२८ संस्करणका लागि सिधै ग्लोबल छनोट खेल्ने

कोल्हवी न्यूज
२०८३ असार ३२, बिहीबार ०६:४२ गते

नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२८ को आईसीसी पुरुष टी–२० विश्वकपका लागि सिधै ग्लोबल छनोट प्रतियोगिता खेल्ने अवसर पाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ छनोट प्रणालीअनुसार नेपालले यसपटक एसियाली क्षेत्रीय प्रारम्भिक छनोट खेल्नुपर्ने छैन।

आईसीसीको नयाँ व्यवस्थाअनुसार सन् २०२६ को टी–२० विश्वकपमा सहभागी भएका तर अर्को संस्करणका लागि स्वतः छनोट हुन नसकेका राष्ट्रहरूलाई सिधै ग्लोबल छनोटमा स्थान दिइने भएको हो। यही प्रावधानका कारण समूह चरणबाट बाहिरिएको नेपालले पनि ग्लोबल छनोटमा सीधा अवसर पाएको हो।

ग्लोबल छनोटमा नेपालसँगै विभिन्न क्षेत्रीय छनोटबाट आएका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। आईसीसीका अनुसार अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली ग्लोबल छनोटमा पुग्नेछन्।

उक्त प्रतियोगितापछि प्रत्येक क्षेत्रबाट एक–एक टोली र समग्र प्रदर्शनका आधारमा उत्कृष्ट थप तीन टोली गरी कुल सात राष्ट्रले सन् २०२८ को आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

नेपालका लागि नयाँ छनोट प्रणालीले विश्वकपमा पुनः स्थान बनाउने सम्भावनालाई थप सहज बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*