अन्तिम क्षणको पुनरागमनसँगै अर्जेन्टिना फाइनलमा, इंग्ल्यान्ड फेरि सेमिफाइनलमै रोकियो

कोल्हवी न्यूज
२०८३ असार ३२, बिहीबार ०६:३८ गते

साबिक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गरेको छ। अमेरिकाको एटलान्टामा भएको प्रतिस्पर्धात्मक खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए। दोस्रो हाफको ५५औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसलाई एन्थोनी गोर्डनले सदुपयोग गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए।

अग्रता लिएपछि इंग्ल्यान्ड रक्षात्मक रणनीतिमा केन्द्रित भए पनि अर्जेन्टिनाले लगातार आक्रमण जारी राख्यो। त्यसको परिणामस्वरूप ८५औँ मिनेटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

बराबरीसँगै उत्साहित बनेको अर्जेन्टिनाले अतिरिक्त समयको दोस्रो मिनेटमा अर्को प्रहार गर्‍यो। मेसीकै आकर्षक पासमा लाउटारो मार्टिनेजले हेडमार्फत विजयी गोल गर्दै टोलीलाई २–१ को जित दिलाए।

यस जितसँगै अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ। लगातार तेस्रो पटक सेमिफाइनलबाट बाहिरिएको इंग्ल्यान्डले अब तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकप उपाधिका लागि अर्जेन्टिनाले साउन ४ गते बिहान पौने १ बजे स्पेनसँग फाइनल खेल खेल्नेछ भने साउन ३ गते बिहान पौने ३ बजे फ्रान्स र इंग्ल्यान्डबीच तेस्रो स्थानको खेल हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*