फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्ड सेमिफाइनलमा भिड्दै
काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि दौड अब चार शक्तिशाली टोलीमा सीमित भएको छ। विश्व वरीयताको शीर्ष चार स्थानमा रहेका फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गर्दै उपाधि नजिक पुगेका छन्।
नवीनतम फिफा विश्व वरीयताअनुसार फ्रान्स दुई स्थान सुधार गर्दै १,९४८.९७ अंकसहित शीर्ष स्थानमा पुगेको छ। अर्जेन्टिना १,९४३.४७ अंकसहित दोस्रो, स्पेन १,९३४.७९ अंकसहित तेस्रो तथा इंग्ल्यान्ड १,८८९.४२ अंकसहित चौथो स्थानमा रहेका छन्।
क्वार्टरफाइनलमा मोरक्कोलाई पराजित गरेको फ्रान्सले अब सेमिफाइनलमा स्पेनको चुनौती सामना गर्नेछ। यता, स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा पुगेको अर्जेन्टिनाले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
दुवै सेमिफाइनल खेल आगामी बुधबार र बिहीबार राति हुनेछन्। यी खेलबाट फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने टोलीको टुंगो लाग्नेछ। तेस्रो स्थानका लागि खेल आइतबार राति २:४५ बजे हुनेछ भने फाइनल सोमबार बिहान १२:४५ बजे सुरु हुनेछ।
अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको विश्वकपमा ४८ टोली सहभागी थिए। हालसम्म १०४ मध्ये १०० खेल सम्पन्न भइसकेका छन् भने ४४ टोली प्रतियोगिताबाट बाहिरिएका छन्। अब विश्व फुटबलको प्रतिष्ठित उपाधिका लागि चार टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।










