रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु, दाइजोका लागि हत्या गरेको माइती पक्षको आरोप
रौतहट, २८ असार – रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिला आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेपछि घटनाले रहस्यमय मोड लिएको छ। प्रहरीले घटनालाई शङ्कास्पद मानेर हत्या वा आत्महत्या भन्ने दुवै कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार स्थानीय निरज कुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार शनिबार आफ्नै सुत्ने कोठामा साडीको पासो लगाई बाँसको कोरोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट सई लालबाबु सहनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर प्रमोद खड्काको टोलीले घटनास्थलको मुचुल्का उठाएको थियो।
कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि मृतकका बुबा रबिन्द्र साह सोनारले भने छोरीको हत्या गरिएको दाबी गरेका छन्। उनका अनुसार विवाहपछि ज्वाइँ निरज साह सोनार र उनका परिवारले दाइजोमा नगद रकम तथा एसीको माग गर्दै निशामाथि निरन्तर मानसिक र शारीरिक यातना दिने गरेका थिए। उनले घटनालाई आत्महत्याजस्तो देखाउन शव झुन्ड्याइएको आरोप लगाउँदै घटनापछि श्रीमान फरार भएको पनि बताएका छन्।
मृतकको विवाह गत फागुन महिनामा भएको पारिवारिक स्रोतले जनाएको छ। घटनापछि स्थानीयवासी र आफन्तले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानबाट मात्रै खुल्ने बताए। उनले हाल कसैलाई दोषी ठहर गर्न नमिल्ने उल्लेख गर्दै सबै पक्षबाट प्रमाण संकलन तथा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।










