भीएआरले नर्वेको गोल रद्द, इंग्ल्यान्डले गर्यो सेमिफाइनल यात्रा तय
इंग्ल्यान्डले नर्वेमाथि २–१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अतिरिक्त समयमा जुड बेलिंघमले निर्णायक गोल गर्दै टोलीलाई अन्तिम चारमा पुर्याएका हुन्।
खेलको ३६औँ मिनेटमा एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफ सकिनुअघि नै जुड बेलिंघमले बराबरी गोल फर्काउँदै इंग्ल्यान्डलाई खेलमा पुनरागमन गराए।
दोस्रो हाफको ५४औँ मिनेटमा नर्वेका टोबजन हेगमले गोल गरे पनि त्यसअघि एर्लिङ हालाण्डले इंग्ल्यान्डका डिफेन्डरमाथि फाउल गरेको निष्कर्ष भीएआरबाट आएपछि गोलले मान्यता पाएन।
निर्धारित ९० मिनेट र इन्जुरी समयसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको ९३औँ मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि विजयी गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए।
अब सेमिफाइनलमा इंग्ल्यान्डले अर्जेन्टिना र स्विट्जरल्याण्डबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।










