पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा
भ्यानकुभर । फिफा विश्वकप–२०२६ को अन्तिम १६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको छ।
क्यानडाको बिसी प्लेस स्टेडियममा बुधबार भएको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समयमा पनि गोल गर्न नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टीमा स्वीट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गरे। यद्यपि म्यानुअल अकांजीको प्रहार भने गोलमा परिणत हुन सकेन।
कोलम्बियाका तर्फबाट जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले पेनाल्टीमा गोल गरे। तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले अवसर सदुपयोग गर्न नसक्दा टोली प्रतियोगिताबाट बाहिरिएको हो।
यस नतिजासँगै फिफा विश्वकप–२०२६ को अन्तिम १६ चरणका सबै खेल सम्पन्न भएका छन् भने स्वीट्जरल्यान्डले अन्तिम आठ अर्थात् क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।










