रौतहटमा जग्गा विवाद हिंसात्मक बन्यो, चक्कु प्रहारबाट एक जनाको मृत्यु
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको विषयलाई लिएर भएको विवादले हिंसात्मक रूप लिँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मंगलबार राति करिब ८:१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबीच जग्गा सम्बन्धी विवाद चर्किएको थियो।
विवादका क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। चक्कु लागेर बुटनको ढाड (पिठ्युँ) मा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि राति करिब ९:०५ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनामा रामबहादुर साह पनि टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
घटनापछि प्रहरीले तत्काल खोजतलास गरी चक्कु प्रहारमा संलग्न रहेको आरोपमा राममहेश्वर साह र उनका बुबा रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










