बाराको सीमावर्ती क्षेत्रमा अज्ञात शव, पोस्टमार्टमका लागि कलैया पठाइयो

कोल्हवी न्यूज
२०८३ असार २२, सोमबार १८:०८ गते

बारा, २२ असार । बाराको पचरौता नगरपालिका–१ अन्तर्गत नेपाल–भारत सीमावर्ती क्षेत्रमा एक अज्ञात पुरुषको शव फेला परेको छ।

सोमबार साँझ करिब ७:३० बजे भारतको सीमा सुरक्षा बल (एसएसबी) ले प्रहरी चौकी पिपरपातीलाई शव रहेको जानकारी गराएपछि नेपाल प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरी सहायक निरीक्षक समसुदिन मियाँ तेलीको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको सुरक्षा गर्दै प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार शव नेपाल–भारत सीमा स्तम्भ नम्बर ३६३/३० बाट करिब १५४ फिट पश्चिम–उत्तर दिशामा रहेको जमुनिया खोलाको किनारमा भेटिएको हो। मृतक अन्दाजी ३३ देखि ३५ वर्ष उमेरका पुरुष रहेको अनुमान गरिएको भए पनि उनको परिचय खुल्न सकेको छैन।

घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा SOCO टोली तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी सहायक निरीक्षक आशिक चौधरीको कमाण्डमा अर्को टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाएको छ। मृतकको पहिचान र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*