‘एनर्जी ड्रिंक’ दाबीमाथि प्रश्न, भारतको खाद्य नियामकद्वारा ठूला ब्रान्डलाई चेतावनी
नयाँ दिल्ली, २२ असार । भारतमा एनर्जी ड्रिंकको बिक्री, विज्ञापन र लेबलिङलाई लिएर सरकारी निगरानी कडा बन्न थालेको छ। स्वास्थ्य जोखिम र उपभोक्तालाई भ्रममा पार्ने दाबीमाथि प्रश्न उठेपछि नियामक निकायले ठूला पेय पदार्थ कम्पनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।
भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (FSSAI) ले रेड बुल, स्टिङ, मोन्स्टर, क्याम्पा र पेप्सिकोसहितका कम्पनीहरूलाई स्पष्टीकरण माग्दै नोटिस जारी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। कम्पनीहरूले आफ्ना उत्पादनलाई ‘Energy Drink’ भन्दै ऊर्जा बढाउने तथा एकाग्रता सुधार्ने दाबी गरेको विषयमा नियामकले आपत्ति जनाएको छ।
एफएसएसएआईका अनुसार भारतमा हालसम्म ‘Energy Drink’ को आधिकारिक परिभाषा वा मापदण्ड तय नभएकाले त्यस्तो नाम प्रयोग गर्दै स्वास्थ्यसम्बन्धी दाबी गर्नु नियमअनुकूल मानिँदैन। यसैले कम्पनीहरूलाई उत्पादनको लेबल, विज्ञापन सामग्री र प्रचारका दाबीहरू संशोधन गर्न निर्देशन दिइएको छ।
यता महाराष्ट्र सरकारले विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विद्यालय तथा कलेजको ५०० मिटर आसपास एनर्जी ड्रिंक बिक्रीमा रोक लगाउने निर्णय गरेको छ। उच्च मात्रामा क्याफिन र चिनी भएका पेय पदार्थले बालबालिका तथा किशोर–किशोरीको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने निष्कर्षपछि यस्तो निर्णय गरिएको जनाइएको छ।
स्वास्थ्य विज्ञहरूले पनि एनर्जी ड्रिंकको अत्यधिक सेवनले मुटुको धड्कन असामान्य रूपमा बढ्ने, रक्तचाप वृद्धि हुने, चिन्ता बढ्ने तथा निद्रामा समस्या देखिन सक्ने चेतावनी दिँदै आएका छन्। विशेषगरी युवापुस्तामा यसको बढ्दो प्रयोगप्रति उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
यससँगै राजस्थानलगायत विभिन्न राज्यहरूले पनि भ्रामक विज्ञापन र गलत लेबलिङविरुद्ध अनुगमन तथा कारबाहीलाई तीव्र बनाएका छन्। पछिल्ला कदमहरूले भारतमा एनर्जी ड्रिंक उद्योगलाई थप जिम्मेवार र नियमनभित्र ल्याउने प्रयास भएको विश्लेषण गरिएको छ।










