हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलोपटक विश्वकप क्वाटरफाइनलमा
एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। सोमबार राति भएको अन्तिम १६ को रोमाञ्चक भिडन्तमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै नर्वेले नयाँ इतिहास रचेको हो।
लामो समयसम्म गोलरहित रहेको खेलको ७९औँ मिनेटमा वैकल्पिक खेलाडी एन्ड्रेज स्जेल्डेरुपको पासलाई शक्तिशाली हेडमार्फत जाली चुमाउँदै हालान्डले नर्वेलाई अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा पुनः स्जेल्डेरुपकै पासमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले नर्वेको जित सुनिश्चित गरे।
ब्राजिलले खेलभर अवसर सिर्जना गरे पनि नर्वेका गोलरक्षक ओर्जान निलान्ड बाधक बने। पहिलो हाफमै ब्रुनो गुइमाराएसले पाएको पेनाल्टी निलान्डले शानदार बचाउ गरेका थिए, जसले खेलको दिशा नै परिवर्तन गरिदियो।
इन्जुरी समयको १०औँ मिनेटमा वैकल्पिक खेलाडी नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यसले ब्राजिललाई हारबाट जोगाउन सकेन। सन् २००२ पछि पहिलो पटक विश्वकप उपाधि जित्ने ब्राजिलको आशा यसपटक पनि अधुरै रह्यो।
दुई गोल थपेसँगै हालान्डले प्रतियोगितामा आफ्नो गोल संख्या ७ पुर्याएका छन्। उनी सर्वाधिक गोलकर्ताको दौडमा अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एमबाप्पेसँग बराबरीमा पुगेका छन्।
न्यु जर्सीमा भएको यस जितसँगै नर्वेले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब उसले मायामीमा हुने अन्तिम आठको खेलमा इंग्ल्यान्ड र मेक्सिकोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।










