विश्वकप प्रिक्वाटरफाइनलमा आज ब्राजिल–नर्वे भिड्दै, भोलि मेक्सिको–इङ्ग्ल्यान्ड प्रतिस्पर्धा
फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा आज पाँच पटकको विश्व विजेता ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको न्युयोर्क–न्यु जर्सी रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १ः४५ बजे सुरु हुनेछ।
ब्राजिलले नकआउट चरणमा जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। नर्वेले पनि आइभरी कोस्टलाई समान २–१ ले हराउँदै प्रिक्वाटरफाइनल यात्रा तय गरेको थियो। ब्राजिल समूह ‘सी’ को विजेता तथा नर्वे समूह ‘आई’ को उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्।
ब्राजिलविरुद्ध नर्वेको इतिहास बलियो छ। दुई टोलीबीच हालसम्म भएका चार अन्तर्राष्ट्रिय भेटमा नर्वे अपराजित रहेको छ। सन् १९९८ को विश्वकपमा नर्वेले ब्राजिललाई २–१ ले हराएको थियो भने १९९७ को मैत्रीपूर्ण खेलमा ४–२ को जित निकालेको थियो। सन् १९९८ र २००६ का अन्य दुई खेल भने १–१ को बराबरीमा सकिएका थिए।










