रौतहटमा १२ लाख बराबरको अवैध भारतीय कपडा बरामद, तीन मोटरसाइकल नियन्त्रणमा

कोल्हवी न्यूज
२०८३ असार २१, आईतवार ०७:५२ गते

रौतहटमा सशस्त्र प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको करिब १२ लाख रुपैयाँ बराबरको अवैध भारतीय कपडा बरामद गरेको छ। कारबाहीका क्रममा भारतीय नम्बर प्लेट भएका तीन वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण मुख्यालय रौतहटबाट परिचालित मोबाइल गस्ती टोलीले माधवनारायण नगरपालिका–१ दिपही क्षेत्रमा शंकास्पद गतिविधिमाथि निगरानी गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बीआर ०५ यू ३३७१, बीआर ०५ ए ८६६६ र बीआर ०५ ई ३५६४ नम्बरका मोटरसाइकलमा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ११ लाख ९२ हजार ५७० रुपैयाँ बराबरका विभिन्न प्रकारका कपडा फेला परेका हुन्।

रौतहटका सशस्त्र प्रहरी प्रमुख एसपी रामहरि अधिकारीका अनुसार गस्ती टोली पुगेको देख्नासाथ तस्करहरूले मोटरसाइकल र सामान घटनास्थलमै छाडेर फरार भएका थिए।

बरामद गरिएका कपडा र मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया अघि बढाउन गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाएपछि तस्करहरूले नरकटिया–बन्कुल नाका प्रयोग गरेर भन्सार छली गर्ने प्रयास गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*