चितवनमा जङ्गली हात्तीको आक्रमण, आमा र चार वर्षीय छोराको मृत्यु

चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणमा परी आमा र चार वर्षीय छोराको मृत्यु भएको छ। शनिबार राति आफ्नै घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका छोरा भरत बोटेको घटनास्थलमै ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार हात्ती घरभित्रै प्रवेश गरी आक्रमण गरेको थियो। आक्रमणपछि आशिकाका श्रीमान् पूर्ण बोटेले हात्तीलाई धपाउन र परिवारको ज्यान बचाउन आगो बाल्ने प्रयास गरेका थिए।
आगो बाल्ने क्रममा कच्ची घरमा समेत आगलागी भएको थियो। स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइए पनि आमाछोराको ज्यान भने जोगाउन सकिएन।
रातिको समयमा घरमै पसेर हात्तीले आक्रमण गरेपछि बेलहट्टा क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन्। घटनापछि जङ्गली जनावरको जोखिम न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।










