सिरहामा प्रहरी र लागुऔषध कारोबारीबीच गोली हानाहान, भारतीय तस्कर घाइते

कोल्हवी न्यूज
२०८३ असार २०, शनिबार ०७:५१ गते

सिरहा । सिरहाको सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान हुँदा एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीको जवाफी कारबाहीमा गोली लागेका उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

प्रहरीका अनुसार नवराजपुर गाउँपालिका–५ स्थित सीमावर्ती क्षेत्रमा ठूलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा टोली परिचालन गरिएको थियो।

प्रहरी टोली घटनास्थलमा पुगेपछि ३–४ जनाको समूहमा रहेका हातहतियारधारी लागुऔषध कारोबारीले प्रहरीमाथि गोली प्रहार गरेका थिए। उक्त गोली कसैलाई नलागेपछि प्रहरीले आत्मरक्षाका लागि दुई राउन्ड जवाफी फायर गरेको जनाएको छ।

जवाफी कारबाहीका क्रममा भारतको मधुवनीका अब्दुल कलामको खुट्टामा गोली लागेको र उनलाई घटनास्थलबाट नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीले जानकारी दिएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घाइते अब्दुल सीमावर्ती क्षेत्रबाट भारतदेखि नेपालसम्म व्यावसायिक रूपमा ब्राउन सुगर तस्करी गर्ने मुख्य कारोबारीमध्ये एक हुन्।

घटनास्थलबाट प्रहरीले १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरू भने भारततर्फ फरार भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*