गर्मीले फ्रान्समा बढायो मृत्यु दर, पेरिसमा ६२ प्रतिशत वृद्धि

कोल्हवी न्यूज
२०८३ असार १९, शुक्रबार १७:३७ गते

एजेन्सी । फ्रान्समा जुन महिनाको अन्तिम सातातिर परेको अभूतपूर्व गर्मीको लहरपछि मृत्यु दरमा उल्लेखनीय वृद्धि भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ। सार्वजनिक स्वास्थ्य निकायका अनुसार एक साताको अवधिमा अघिल्लो साताको तुलनामा मृत्यु संख्या करिब ३० प्रतिशतले बढेको हो।

पब्लिक हेल्थ फ्रान्सले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार जुन २२ देखि सुरु भएको सातामा दुई हजार २५ जना थप व्यक्तिको मृत्यु भएको छ। यो अघिल्लो साताको तुलनामा २९.१ प्रतिशतले बढी हो। निकायले हाल उपलब्ध तथ्याङ्क पूर्ण नभएकाले वास्तविक प्रभाव अझ गम्भीर हुन सक्ने जनाएको छ।

गर्मीको सबैभन्दा बढी असर राजधानी पेरिस क्षेत्रमा परेको छ। त्यहाँ सोही अवधिमा मृत्यु संख्या ६२ प्रतिशतले बढेको छ। पेस डे ला लोयर क्षेत्रमा पनि मृत्यु दर उल्लेखनीय रूपमा बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

गत जुनमा फ्रान्सले करिब ११ दिनसम्म इतिहासकै तीव्र गर्मीको लहर सामना गरेको थियो। देशका अधिकांश स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन प्रभावित बनेको थियो।

गर्मीको बढ्दो जोखिमलाई लिएर सरकारको तयारी पर्याप्त नभएको भन्दै विपक्षी तथा हरित दलहरूले आलोचना गरेका छन्। हरित दलले जलवायु परिवर्तनको असर व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाउँदै अविश्वास प्रस्तावसमेत दर्ता गरेको छ।

स्वास्थ्यमन्त्री स्टेफनी रिस्टले यस वर्षको अवस्था सन् २००३ को विनाशकारी गर्मीसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने बताएका छन्। सन् २००३ मा आएको गर्मीको लहरका कारण फ्रान्समा करिब १५ हजार जनाको मृत्यु भएको थियो, जसमा अधिकांश वृद्धवृद्धा थिए।

यस्तै, निकोलस रेभेलले यस वर्षको गर्मीबाट हुने कुल मृत्यु सन् २००३ को स्तरमा नपुग्ने अपेक्षा गरिए पनि गत वर्षको तुलनामा भने बढी हुन सक्ने बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*