पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइलनमा, क्रोएसिया २–१ ले पराजित

Portugal’s Bruno Fernandes (8) battles with Croatia’s Mateo Kovacic (8) during the World Cup round of 32 soccer match between Portugal and Croatia in Toronto, Thursday, July 2, 2026. (AP Photo/Mike Stewart)
पोर्चुगल विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा क्रोएसियालाई २–१ ले पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा पुगेको हो ।
क्यानाडाको बीएमओ फिल्डमा मध्यान्तरसम्म गोलरहित बराबरी भएको खेलमा मध्यान्तरपछि क्रोएसियाले गोलको खाता खोलेको थियो ।
५३ औँ मिनेटमा इभाँ पेरिसिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए । ६८ औँ मिनेटमा पोर्चुगलले बराबरी गर्यो ।
पेनाल्टीलाई सदुपयोग गर्दै क्रिष्टियानो रोनाल्डोले गोलमा परिणत गरे । रोनाल्डोको यो विश्वकपको ११औँ गोल हो ।
निर्धारित ९० मिनेटको खेल बराबरीतर्फ अगाडि बढिरहेका बेलामा इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गोल गर्दै पोर्चुगललाई जिताए ।
इन्जुरी समयको १३ औँ मिनेटमा क्रोएसियाका यास्को जीभाडिओलले गोल गरेका भए पनि भीएआरले उक्त गोललाई मान्यता नदिएसँगै क्रोएसिया सनसनीपूर्ण बराबरी गर्ने अवसरबाट वञ्चित भएको थियो ।
यो खेलको अन्तिम इन्जुरी समय १७ मिनेटसम्म पुगेको थियो ।
पोर्चुगलले समूह चरणमा नवप्रवेशी टिम उज्बेकिस्तानलाई ५–० ले हराएको थियो भने कोलम्बियासँग गोलरहित तथा चेक गणतन्त्रसँग १–१ गोलको बराबरी खेलेको थियो ।
समूह चरणमा क्रोएसियाले घानालाई २–१ ले तथा पानामालाई १–० ले हराउँदा इङ्गल्याण्डसँग भने ४–२ ले पराजित भएको थियो ।
अहिलेसम्म को को पुगे प्रिक्वार्टरफाइनलमा ?
अमेरिका, क्यानाडा र मेक्सिकोमा भइरहेको विश्वकप फुटबलमा अहिलेसम्म १२ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो पटक ४८ टिमले सहभागिता जनाएको प्रतियोगितामा समूह चरणबाट १६ टिम बाहिरिएका थिए । समूहको पुछारमा रहने टिम र उत्कृष्ट आठभित्र पर्न नसक्ने तेस्रो स्थान ओगटेका चार टिम पहिलो चरणबाटै बाहिरिएका थिए ।
३२ टिम नकआउट चरणमा प्रवेश गरेकामा यो चरणबाट १६ टिम बाहिरिन्छन् । अहिलेसम्म भएका १२ खेलबाट १२ टिम बाहिरिएका छन् भने १२ टिम प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अहिलेसम्म सहआयोजक क्यानाडा, ब्रजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्गल्याण्ड, बेल्जियम, अमेरिका, स्पेन र पोर्चुगल प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अन्तिम ३२ को खेलमा क्यानाडाले दक्षिण अफ्रिकालाई १–० ले हरायो । ब्रजिलले जापानलाई २–१ ले हरायो ।
पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हरायो ।
त्यस्तै नर्वेले आइभरी कोष्टलाई २–१ ले पराजित गर्यो ।
फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्धतले स्वीडेनलाई ३–० ले पराजित गर्यो ।
मेक्सिकोले इक्वेडरलाई २–० ले हरायो । इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले हरायो ।
त्यस्तै बेल्जियमले सेनेगललाई ३–२ ले हरायो । अमेरिकाले बोस्निया एन्ड हर्जगोविनालाई २–१ ले पराजित गर्यो ।
त्यस्तै स्पेनले अष्ट्रियालाई ३–० ले हरायो । पोर्चुगलले क्रोएसियालाई २–१ ले हरायो ।










