बाराका चालक चन्द्रबहादुरले आफ्नै ज्यान गुमाएर १४ यात्रुको ज्यान जोगाए

कोल्हवी न्यूज
२०८३ असार १८, बिहीबार १५:१३ गते

चितवन । चितवनमा एक ईभी भ्यान चालकले आफ्नै ज्यान गुमाउनुअघि १४ यात्रुको ज्यान बचाउँदै सम्भावित ठूलो दुर्घटना टारेका छन्।

बुधबार अपराह्न करिब ४ बजे नारायणगढबाट वीरगञ्जतर्फ १४ यात्रु बोकेर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ११२४ नम्बरको ईभी भ्यानका चालक ५५ वर्षीय चन्द्रबहादुर बुढाथोकीलाई बाटोमै एक्कासी स्वास्थ्य समस्या देखिएको थियो।

प्रहरीका अनुसार चितवनको रत्ननगर नगरपालिका–९ स्थित कृष्ण मन्दिर प्रहरी बिट नजिक पुग्दा असहज महसुस गरेका चालक बुढाथोकीले गाडीको गति घटाउँदै सुरक्षित रूपमा सडक किनारमा रोके। गाडी रोकेलगत्तै उनी स्टेरिङमै बेहोस भएका थिए।

कृष्ण मन्दिर प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी बुढाथोकीलाई तत्काल उद्धार गरी एम्बुलेन्समार्फत बकुलहर अस्पताल, टाँडी पुर्‍याएको थियो। तर, चिकित्सकले अपराह्न ४ः५० बजे उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार चालकले अन्तिम क्षणसम्म सवारीसाधनलाई नियन्त्रणमा राख्दै सुरक्षित रूपमा रोकेकाले ठूलो दुर्घटना हुनबाट जोगिएको हो। गाडीमा सवार सबै १४ यात्रु सकुशल रहेका छन्।

घटनाका प्रत्यक्षदर्शी तथा सोही भ्यानका यात्रु दीपक कुमारले चालकले असहज अवस्थामा पनि संयमता नछोडेको बताए। उनका अनुसार गाडी रोकेपछि मात्र चालकको अवस्था गम्भीर रहेको यात्रुले थाहा पाएका थिए।

घटनापछि प्रहरीले यात्रुहरूको व्यवस्थापन गर्दै उनीहरूलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाएको जनाएको छ।

यस घटनाप्रति विभिन्न क्षेत्रबाट चालक बुढाथोकीको साहस र कर्तव्यनिष्ठाको प्रशंसा भइरहेको छ। एमाले नेता सुरेन्द्र पाण्डे ले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै अन्तिम क्षणसम्म यात्रुको सुरक्षालाई प्राथमिकता दिएको भन्दै चालक बुढाथोकीको उच्च जिम्मेवारीबोधको प्रशंसा गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*