यू–१९ महिला एसीसी प्रिमियर कपको तालिका सार्वजनिक, नेपाल समूह ‘डी’ मा

कोल्हवी न्यूज
२०८३ असार १७, बुधबार १८:४६ गते

काठमाडौं । मलेसियामा आयोजना हुने १९ वर्षमुनिको एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले टी–२० फर्म्याटमा सञ्चालन हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता असार २७ गतेदेखि साउन २ गतेसम्म मलेसियामा आयोजना हुनेछ।

सार्वजनिक तालिकाअनुसार नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा नेपालसँगै हङकङ, चीन, सिङ्गापुर र कतार रहेका छन्।

समूह ‘ए’ मा थाइल्यान्ड, म्यानमार र जापान रहेका छन् भने समूह ‘बी’ मा यूएई, ओमान र भूटान छन्। त्यस्तै समूह ‘सी’ मा इन्डोनेशिया, आयोजक मलेसिया र कुवेत परेका छन्।

प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष चार टोलीले आगामी एशिया कपका लागि स्थान सुरक्षित गर्नेछन्।

यसैबीच, नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताका लागि सोनी पाख्रिनको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ। नेपालले प्रतियोगितामार्फत एशिया कपमा स्थान बनाउने लक्ष्य राखेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*