जीतपुरमा गाँजासहित दुई जना पक्राउ, ६७ पुरिया बरामद
बारा । बाराको जीतपुरबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित दुई छुट्टाछुट्टै पसलमा प्रहरीले छापा मारेर बिक्रीका लागि पुरिया बनाएर राखिएको गाँजा बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले जीतपुर बजारस्थित लकिचन साहको पसलमा खानतलासी गर्दा करिब ३६० ग्राम तौलका ५९ वटा गाँजाको पुरिया बरामद गरेको प्रहरीले जनाएको छ। उक्त पसलबाट ५० वर्षीया बच्ची साहलाई नियन्त्रणमा लिइएको छ।
यस्तै, जीतपुरकै सिधरीया टोलस्थित अर्को पसलमा गरिएको खानतलासीका क्रममा आठ पुरिया गाँजा फेला परेपछि ६८ वर्षीय सेख महमदलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय बजार क्षेत्रमा अवैध लागुऔषध कारोबार नियन्त्रण गर्न विशेष निगरानी र छड्के अनुगमनलाई तीव्र बनाइएको छ।










