बाराको सिमरा–डुमरवना सडकमा दुर्घटना, स्कुटर चालकको ज्यान गयो

कोल्हवी न्यूज
२०८३ असार १६, मंगलवार ०७:१८ गते

बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२ स्थित एयरपोर्ट नजिक सिमरा–डुमरवना भित्री सडकमा सोमबार भएको सवारी दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार डुमरवनाबाट सिमरातर्फ जाँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले अगाडि गुडिरहेको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो। ठक्करपछि स्कुटर ट्र्याक्टरमुनि पसेर दुर्घटना थप गम्भीर बनेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–२९ निवासी १७ वर्षीय लक्की सराफलाई प्रारम्भिक उपचारपछि एलएस न्युरो अस्पताल, परवानीपुर लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

स्कुटरमा पछाडि सवार १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भएका छन् भने मोटरसाइकल चालक २९ वर्षीय रइफुल आलम अन्सारी मध्यम घाइते भएका छन्। दुवैजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*