पर्सा सीमाबाट २३ लाखभन्दा बढीका अवैध सामान बरामद, ओसारपसारमा प्रयोग भएका सवारी पनि नियन्त्रणमा

कोल्हवी न्यूज
२०८३ असार १५, सोमबार १५:३० गते

पर्सा जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले अवैध सामान ओसारपसारविरुद्धको निगरानीलाई तीव्र बनाउँदै पछिल्ला विभिन्न कारबाहीमा २३ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान र तिनको ढुवानीमा प्रयोग भएका सवारी साधन बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार विभिन्न मितिमा सञ्चालन गरिएको सीमा गस्ती तथा चेकजाँचका क्रममा कुल २३ लाख ९ हजार ३०५ रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिइएको हो।

आइतबार वीरगञ्ज महानगरपालिका–१६ स्थित इनरुवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब ७ लाख ७२ हजार रुपैयाँ बराबरका विभिन्न प्रकारका कपडा सिरसिया नदी किनारको झाडीमा लुकाएर राखिएको अवस्थामा फेला पारेको थियो। बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

उही दिन इनरुवा र कोनिया नाकामा परिचालित टोलीले अवैध रूपमा नेपाल भित्र्याइँदै तथा भारततर्फ लैजाँदै गरिएका ४ लाख ५२ हजार ९०५ रुपैयाँ बराबरका किराना सामान, कस्मेटिक सामग्री, मदिरा, तरकारी र स्याउ पनि बरामद गरेको छ। ती सामान ढुवानीमा प्रयोग भएका एक थान ई–रिक्सा र एक थान साइकलसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको छ।

यसअघि असार १३ गते इनरुवा, कोनिया, परवानीपुर र अलौ क्षेत्रमा सञ्चालन गरिएको छुट्टै कारबाहीमा १० लाख ८४ हजार ४ सय रुपैयाँ बराबरका कपडा, मोबाइलका टेम्पर्ड ग्लास, किराना सामान तथा फलफूल बरामद गरिएको थियो। सो क्रममा सामान ओसारपसारमा प्रयोग भएका एक थान टेम्पो, एक थान मोटरसाइकल र तीन थान साइकलसमेत नियन्त्रणमा लिइएको थियो। ती सामग्री र सवारी साधन असार १४ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रणका लागि नियमित निगरानी, गस्ती र चेकजाँचलाई अझ प्रभावकारी बनाइएको बताए। उनले यस्ता गतिविधिविरुद्धको कारबाही आगामी दिनमा पनि निरन्तर जारी रहने जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*