रौतहटमा नदीमा डुबेर दुई बालकको दुःखद मृत्यु
रौतहट । रौतहटको गढीमाई नगरपालिका–१ स्थित बागमती नदीको समनपुर–हरैया घाटमा नुहाउने क्रममा आइतबार दुई बालकको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृत्यु हुनेमा स्थानीय ८ वर्षीय अनिकेश यादव र ८ वर्षीय आदित्य यादव रहेका छन्।
प्रहरीका अनुसार अत्यधिक गर्मीबाट राहत पाउन नदीमा नुहाउन गएका दुवै बालक गहिरो पानीमा पुगेपछि डुबेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले उद्धार प्रयास गरे पनि दुवै बालकको ज्यान जोगाउन नसकिएको जनाएको छ।
गर्मीको समयमा नदी तथा खोलामा नुहाउन जाने क्रम बढ्दै गएको भन्दै प्रहरीले अभिभावकलाई बालबालिकाको सुरक्षाप्रति विशेष सतर्क रहन आग्रह गरेको छ।










