भारतबाटै शेख हसिनाको चुनौती– सबै षड्यन्त्र चिरेर बङ्गलादेश फर्किन्छु

कोल्हवी न्यूज
२०८३ असार १४, आईतवार १८:१५ गते

ढाका । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्कने घोषणा गरेकी छन्।

७८ वर्षीया हसिना विद्यार्थी नेतृत्वको आन्दोलनपछि सन् २०२४ को अगस्टमा आफ्नो १५ वर्ष लामो शासन अन्त्य भएपछि भारतमा आश्रय लिइरहेकी छन्। त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी भए पनि गत जनवरीमा नयाँदिल्लीस्थित प्रेस क्लबबाट भिडियोमार्फत सम्बोधन गरेकी थिइन्।

भारतीय टेलिभिजन एनडीटिभीसँगको अन्तर्वार्तामा हसिनाले आफूविरुद्ध आएको फैसला गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरिन्। उनले मृत्युदण्डको सजायबाट आफू नडराउने पनि स्पष्ट पारिन्।

“मेरोविरुद्ध धेरै षड्यन्त्र गरिए। तर ती सबैलाई पार गर्दै म जनताको मतबाट पाँच पटक प्रधानमन्त्री निर्वाचित भएँ र देशको विकासका लागि काम गरेँ,” उनले भनिन्।

स्वदेश फर्किने योजनाबारे सोधिएको प्रश्नमा हसिनाले, “सबै बाधा र षड्यन्त्र पार गर्दै म यसै वर्ष आफ्नो देश फर्कनेछु,” भन्ने प्रतिक्रिया दिइन्।

गत नोभेम्बरमा ढाकाको एक अदालतले आन्दोलनका क्रममा हिंसा भड्काएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो।

यसैबीच, हसिनाको नेतृत्वमा रहेको पूर्वसत्तारुढ अवामी लिगलाई पनि बङ्गलादेशमा गैरकानुनी संगठन घोषणा गरिएको छ।

उता, गत फेब्रुअरीमा निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै भारत–बङ्गलादेश सम्बन्धमा केही सुधार आएको बताइए पनि हसिनाको सुपुर्दगीको विषयमा दुवै देशबीच मतभेद कायम छ। बङ्गलादेश सरकारले भारतसँग हसिनाको सुपुर्दगीको माग दोहोर्‍याउँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*