भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या ९२० पुग्यो

काराकास । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
बीबीसीका अनुसार विपद् व्यवस्थापन निकायले हालसम्म तीन हजार ३६० जना घाइते भएको पुष्टि गरेको छ। उद्धार टोलीले भग्नावशेषमा फसेका सम्भावित जीवित व्यक्तिको खोजी कार्य निरन्तर अघि बढाइरहेको छ।
बुधबार केही सेकेन्डको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले राजधानी काराकाससहित देशका विभिन्न क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको थियो। दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको छ, जसलाई पछिल्लो एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ।
घाइतेहरूको विभिन्न अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको छ भने उद्धार तथा राहतका लागि विभिन्न देशबाट सयौं अन्तर्राष्ट्रिय उद्धारकर्मी परिचालन गरिएको छ।
यसबीच, भूकम्प आउनुभन्दा केही क्षणअघि धेरै नागरिकले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा भूकम्पसम्बन्धी चेतावनी सूचना प्राप्त गरेको सामाजिक सञ्जालमार्फत बताएका छन्। एन्ड्रोइड र आईओएस दुवै अपरेटिङ प्रणालीमा सरकारबाट भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपद्का आपतकालीन चेतावनी सन्देश प्राप्त गर्ने सुविधा उपलब्ध रहेको जनाइएको छ।









