नर्वेमाथि ४–१ को जित, फ्रान्स अपराजित रहँदै अन्तिम १६ मा

कोल्हवी न्यूज
२०८३ असार १३, शनिबार ०७:१९ गते

काठमाडौं । उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले फिफा विश्वकप फुटबलको समूह ‘आई’ अन्तर्गत अन्तिम खेलमा नर्वेलाई ४–१ गोलअन्तरले पराजित गरेको छ।

यससँगै फ्रान्सले समूह चरणका तीनै खेल जित्दै नौ अंकसहित समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। फ्रान्स र नर्वे दुवै टोली यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका भए पनि समूहको शीर्षस्थान निर्धारणका लागि यो खेल महत्त्वपूर्ण थियो।

फ्रान्सको जितमा उसमान डेम्बेलेले सातौँ, २०औँ र ३२औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गरे। उनले ३२ मिनेटभित्र ह्याट्रिक गर्दै विश्वकप इतिहासमा दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान पनि बनाए। विश्वकपमा सबैभन्दा छिटो ह्याट्रिक गर्ने कीर्तिमान भने सन् १९५४ मा २४ मिनेटमै तीन गोल गरेका अस्ट्रियाका एरिक प्रोब्स्टको नाममा कायम छ।

फ्रान्सका लागि डिजायर डोएले इन्जुरी समयमा अर्को गोल थपे भने नर्वेका थेलो आसगार्डले सान्त्वना गोल फर्काए। नर्वेले यस खेलमा आफ्ना स्टार स्ट्राइकर एर्लिङ हालान्डलाई विश्राम दिएको थियो।

यस विश्वकपमा डेम्बेले ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानडाका जोनाथन डेभिडले पनि ह्याट्रिक गरेका थिए।

यता, समूहकै अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले पराजित गर्‍यो। लगातार तेस्रो हार बेहोरेसँगै इराक प्रतियोगिताबाट बाहिरिएको छ भने सेनेगलले समूह चरणको अन्त्य जितका साथ गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*