बारामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु भएपछि स्थानीयवासीले तत्काल सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न माग गरेका छन्। घटनापछि उपमहानगरपालिकाले पनि आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि सम्बन्धित निकायसँग पहल थालेको छ।
पछिल्लो घटना उपमहानगरपालिका–१४, मौलापुरकी ५ वर्षीया दियान्सी रानामगरको हो। बिहीबार राति घरअगाडि बसिरहेको बेला विषालु सर्पले डसेपछि उनलाई उपचारका लागि वीरगञ्ज लगिँदै थियो। तर अस्पताल पुग्नुअघि नै बाटोमै उनको मृत्यु भएको परिवारले जनाएको छ।
दियान्सी स्थानीय साना किसान शिक्षा सदनमा एलकेजीमा अध्ययनरत थिइन्। उनको निधनप्रति शोक व्यक्त गर्दै जीतपुरसिमराका निजी विद्यालयहरूले शुक्रबार शोक बिदा दिएका छन्।
यसअघि असार ८ गते उपमहानगरपालिका–१५ डुमरवानास्थित डाँडाटोलकी ४ वर्षीया सुप्रिना दोङको पनि सर्पदंशकै कारण मृत्यु भएको थियो। एक साताभित्र पाँच वर्षमुनिका दुई बालिकाको ज्यान गएपछि स्थानीयमा चिन्ता र आक्रोश बढेको छ।
उपमहानगर क्षेत्रमा सर्पदंश उपचार केन्द्र नहुँदा बिरामीलाई उपचारका लागि वीरगञ्ज वा हेटौँडा लैजानुपर्ने बाध्यता रहेको छ। उपचारमा ढिलाइ हुँदा विशेषगरी बालबालिकाको बाटोमै ज्यान जाने घटना दोहोरिने गरेको स्थानीयको गुनासो छ।
घटनापछि नगरप्रमुख राजन पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पत्राचार गर्दै नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक समन्वय, सहयोग र अनुमति उपलब्ध गराइदिन आग्रह गरेका छन्।
पत्रमा नगर अस्पतालमा सर्पदंश उपचार सेवा नहुँदा नागरिकबाट व्यापक गुनासो आएको उल्लेख गर्दै सेवा सञ्चालनका लागि आवश्यक मार्गदर्शन र सहजीकरणको अनुरोध गरिएको छ।
उपमहानगर स्वास्थ्य शाखा प्रमुख रवि भास्करले महाशाखाबाट एन्टिभेनम औषधि र आवश्यक अनुमति प्राप्त भए नगर अस्पतालबाट तत्काल सर्पदंश उपचार सेवा सुरु गर्न सकिने बताएका छन्। उनले सर्पदंशका कारण हुने मृत्युसम्बन्धी एकीकृत तथ्यांक भने स्वास्थ्य शाखासँग नरहेको जानकारी दिए।









