रास्वपा महाधिवेशन : पदाधिकारी चयनको मतदान सम्पन्न, अब नतिजाको प्रतीक्षा, आजै शपथ ग्रहण पनि
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका उम्मेदवारबीच भएको मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी अघि बढाइएको छ।
निर्वाचन आयोगका अनुसार करिब १ हजार ३ सय मत खसेको छ। मतदान सकिएको करिब डेढ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको आयोगले जनाएको छ।
महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको छ भने महामन्त्रीको एक पदका लागि विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्।
सहमहामन्त्री पुरुषतर्फ असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त प्रतिस्पर्धामा छन्। यस्तै महिलातर्फ जुली यादव, विदुषी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
मतगणनाबाट पदाधिकारीको अन्तिम टुंगो लागेपछि रास्वपाले आजै नवनिर्वाचित केन्द्रीय समिति सदस्यहरूको शपथ ग्रहण कार्यक्रमसमेत आयोजना गर्ने तयारी गरेको छ। महाधिवेशनमार्फत चयन हुने नयाँ नेतृत्वले आगामी कार्यदिशा तय गर्ने भएकाले मतपरिणामलाई चासोका साथ हेरिएको छ।









