मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म निर्माण हुने

कोल्हवी न्यूज
२०८३ असार ९, मंगलवार ०६:४२ गते

नेपाली हास्यव्यंग्य क्षेत्रका अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठ को जीवनकथामा आधारित चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्देशक मिलन चाम्स ले चलचित्र निर्माणको औपचारिक घोषणा गरेका हुन्।

यसअघि ‘बबी’, ब्लाइन्ड रक्सअञ्जिला जस्ता जीवनीमा आधारित चलचित्र निर्देशन गरिसकेका चाम्सले मदनकृष्णको जीवनलाई पर्दामा उतार्न पाउनु आफ्नो लागि विशेष अवसर भएको बताए। उनले मदनकृष्णको जीवनमा रहेका संघर्ष, उतारचढाव र सफलताका कथा कुनै चलचित्रभन्दा कम नरहेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनकथालाई चलचित्रमा रूपान्तरण गर्ने साहस गरेको निर्माण टोलीप्रति आभार व्यक्त गरे। उनले आफ्नो जीवनयात्रा हरिवंश आचार्य बिना अधुरो रहेको भन्दै मह जोडीको सहकार्यलाई चलचित्रले उचित स्थान दिने विश्वास व्यक्त गरे।

मदनकृष्णले चलचित्रमा आफ्नो भूमिका निर्वाह गर्ने कलाकार महेश त्रिपाठी उपयुक्त छनोट भएको प्रतिक्रिया दिए। पुराना तस्बिरहरूमा समेत समानता देखिने र अभिनय क्षमता उत्कृष्ट रहेकाले चलचित्र राम्रो बन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

हरिवंश आचार्यले पनि मदनकृष्णको जीवन चलचित्रका लागि अत्यन्त उपयुक्त रहेको बताए। उनका अनुसार संघर्ष, सफलता, मित्रता र सहकार्यले भरिएको मदनकृष्णको जीवनले दर्शकलाई मनोरञ्जनसँगै प्रेरणा र शिक्षा पनि प्रदान गर्नेछ।

चलचित्रमा मदनकृष्ण र हरिवंशको लामो सहयात्रासँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम पौडेल, गौरीशङ्कर धुजु तथा नरेन्द्र कंशाकार को भूमिका पनि समेटिने जनाइएको छ।

यम थापा को लेखन रहने चलचित्रमा केकी अधिकारी, यमन श्रेष्ठ, रुषा न्यौपाने तथा देशभक्त खनाल लगायत कलाकारको अभिनय रहनेछ। चलचित्रले नेपाली कला र मनोरञ्जन क्षेत्रका एक महत्वपूर्ण अध्यायलाई दर्शकमाझ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*