यात्रु तानातान र दुर्व्यवहार गर्ने १० जना कोटेश्वर–जडीबुटीबाट पक्राउ
काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुमाथि अनावश्यक दुःख, हैरानी तथा अमर्यादित व्यवहार गरेको आरोपमा १० जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कोटेश्वर र जडीबुटी क्षेत्रबाट बस काउन्टरमा कार्यरत कर्मचारी, चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेहरूमा सूर्यबहादुर देवकोटा, प्रकाश शिवाकोटी, हरिभजन थापा, डिल्लीप्रसाद लामिछाने, सुरेश तामाङ, तिलककुमार थापा, खड्कबहादुर तामाङ, डोरकुमार श्रेष्ठ, नन्दलाल बुढाथोकी र राजेश सापकोटा रहेका छन्।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदी का अनुसार ती व्यक्तिहरू यात्रु तानातान गर्ने, झोला खोस्ने तथा अभद्र व्यवहार गर्ने गतिविधिमा संलग्न रहेको अवस्थामा फेला परेका थिए।
ट्राफिक प्रहरीले पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं मा पठाइएको जनाएको छ।
यात्रुहरूको सुरक्षित र मर्यादित यात्रा सुनिश्चित गर्न यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने ट्राफिक प्रहरीको भनाइ छ।










