रास्वपाको केन्द्रीय सदस्य पदमा अधिवक्ता गणेश घिमालको उम्मेदवारी घोषणा

कोल्हवी न्यूज
२०८३ असार ८, सोमबार १०:२० गते

बारा,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै मधेश प्रदेशको भूगोलतर्फबाट केन्द्रीय सदस्य पदका लागि अधिवक्ता गणेश घिमालले उम्मेदवारी घोषणा गरेका छन्।

बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका घिमालले पार्टीको केन्द्रीय नेतृत्वमा मधेश प्रदेशको प्रभावकारी प्रतिनिधित्व गर्ने उद्देश्यका साथ उम्मेदवारी दिएका हुन्। उनले स्वच्छ राजनीति, सक्षम नेतृत्व र समृद्ध मधेशको नारासहित आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्।

घिमाल हाल रास्वपा मधेश प्रदेशका सह–महामन्त्रीको जिम्मेवारीमा रहेका छन्। उनले मधेश प्रदेशका नागरिकका हक, अधिकार र विकासका मुद्दालाई राष्ट्रिय स्तरमा सशक्त रूपमा उठाउँदै आएको दाबी गरेका छन्। उम्मेदवारी घोषणासँगै उनले कानुनी शासन, सुशासन, मधेशको अधिकार तथा विकास र समृद्धिलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताएका छन्।

उनका अनुसार मधेश प्रदेशको वास्तविक अवस्था, सम्भावना र चुनौतीलाई पार्टीको केन्द्रीय तहमा पुर्‍याउन तथा समग्र मधेशको आवाजलाई सशक्त रूपमा प्रतिनिधित्व गर्न आफू उम्मेदवार बनेको हो। उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउँदै संगठन विस्तार र जनविश्वास अभिवृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

रास्वपाले आयोजना गर्न लागेको प्रथम राष्ट्रिय महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरूको सहभागिता रहनेछ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको छ। यसै सन्दर्भमा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको बेला मधेश प्रदेशबाट गणेश घिमालको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*