मधेसमा घट्यो गहुँ उत्पादन, प्रतिकूल मौसम र सिँचाइ अभाव मुख्य कारण

कोल्हवी न्यूज
२०८३ असार ८, सोमबार ०८:०३ गते

जनकपुरधाम । देशको प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादन उल्लेख्य रूपमा घटेको छ। कृषि क्षेत्रका अधिकारीहरूका अनुसार मौसमको प्रतिकूलता, रोग–कीराको प्रकोप तथा सिँचाइ र गुणस्तरीय बीउको अभावका कारण उत्पादनमा कमी आएको हो।

मधेस प्रदेश कृषि निर्देशनालयको तथ्यांकअनुसार चालु वर्ष प्रदेशभर तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा खेती गरिएको गहुँबाट पाँच लाख ४३ हजार १६० मेट्रिक टन उत्पादन भएको छ। यो उत्पादन अघिल्लो वर्षको तुलनामा निकै कम हो। गत वर्ष एक लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा खेती गरिएको गहुँबाट सात लाख ३१ हजार मेट्रिक टन उत्पादन भएको थियो।

जिल्लागत विवरणअनुसार धनुषा गहुँ उत्पादनमा अग्रस्थानमा रहेको छ। धनुषामा ३३ हजार ५०० हेक्टर क्षेत्रफलबाट ९८ हजार ४९० मेट्रिक टन गहुँ उत्पादन भएको छ। त्यसपछि सप्तरीमा ८२ हजार ३२० मेट्रिक टन, महोत्तरीमा ७२ हजार ८०० मेट्रिक टन, बारा जिल्लामा ७१ हजार ९२० मेट्रिक टन र सर्लाहीमा ६९ हजार ५९६ मेट्रिक टन उत्पादन भएको छ।

त्यस्तै पर्सामा ५९ हजार ८५२ मेट्रिक टन, रौतहटमा ५२ हजार ७४१ मेट्रिक टन तथा सिरहामा ३५ हजार ४४१ मेट्रिक टन गहुँ उत्पादन भएको कृषि निर्देशनालयले जनाएको छ।

मधेस प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादव का अनुसार समयमै पर्याप्त सिँचाइ सुविधा उपलब्ध नहुनु, उन्नत बीउको कमी तथा रोग–कीराको बढ्दो असरले उत्पादनमा प्रत्यक्ष प्रभाव पारेको छ।

कृषि विज्ञहरूले उत्पादन वृद्धि गर्न आधुनिक खेती प्रणाली, उन्नत बीउबिजनको प्रयोग र सिँचाइ पूर्वाधार विस्तारमा जोड दिनुपर्ने बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*