देशभर मौसममा बदली, पहाडमा वर्षा र तराईमा तातो लहरको चेतावनी
काठमाडौं । देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बदली रहने भएको छ। केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
तराई क्षेत्रतर्फ कोशी प्रदेशका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यता, लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लामा तातो लहरको प्रभाव कायम रहने देखिएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका बासिन्दाले पनि अत्यधिक गर्मीका कारण ‘तातो दिन’को अनुभूति गर्न सक्ने मौसमविद्को भनाइ छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने मधेश प्रदेश र कोशी तराईका केही स्थानमा समेत राति पानी पर्न सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले वर्षा, चट्याङ र तातो लहरबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।









