२६ वर्षपछि हेटौँडा कपडा उद्योग ब्युँताउने तयारी, सरकारी सक्रियता बढ्यो
हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीले गति लिन थालेको छ। २६ वर्षदेखि निष्क्रिय रहेको उद्योगलाई पुनर्जीवन दिने उद्देश्यसहित विभिन्न सरकारी निकायले स्थलगत अनुगमन र अध्ययनलाई तीव्र बनाएका छन्।
हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भई २०३५ सालदेखि सञ्चालनमा आएको कपडा उद्योग २०५७ सालदेखि बन्द छ। त्यसयता उद्योग पुनः सञ्चालनका लागि पटक–पटक प्रयास भए पनि ठोस उपलब्धि हासिल हुन सकेको थिएन।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार उद्योगभित्र रहेका अधिकांश उपकरण सामान्य मर्मतपछि पुनः प्रयोग गर्न सकिने अवस्थामा छन्। उनले सरकारले यस वर्ष उद्योग सञ्चालनलाई प्राथमिकतामा राखेकाले सम्बन्धित निकायहरूको चासो र सक्रियता बढेको बताए।
कपडा उद्योगसँगै बुटवलमा रहेको धागो कारखाना र नेपालगन्जमा रहेको कपास उत्पादन केन्द्र पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ। यी उद्योगहरू हेटौँडा कपडा उद्योगसँगै जोडिएका भएकाले कपडा उद्योग बन्द भएपछि ती पनि निष्क्रिय बनेका थिए।
यसबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव ले उद्योगको स्थलगत निरीक्षण गरेकी छन्। साथै मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि उद्योगको अवस्था अध्ययन गरेको छ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा मन्त्री यादवले हेटौँडा कपडा उद्योग आगामी आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताएकी थिइन्। उनका अनुसार रुग्ण उद्योगहरूमध्ये सबैभन्दा पहिले हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने सम्भावना छ।
हाल उद्योग परिसरमा २०७५ सालदेखि सशस्त्र प्रहरी बलको गण रहेको छ। सुरक्षा व्यवस्थापन सुदृढ बनेपछि पहिले लागुऔषध प्रयोगकर्ताको अखडाका रूपमा चिनिने उद्योग क्षेत्र अहिले सुरक्षित अवस्थामा रहेको बताइएको छ। हालै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा उद्योग परिसरको सरसफाइसमेत गरेका छन्।
सरकारको बढ्दो चासो र तयारीसँगै लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने आशा स्थानीयवासी र उद्योग क्षेत्रले गरेका छन्।









