रास्वपा महाधिवेशनको दोस्रो दिन: प्रतिवेदन पारितदेखि निर्वाचन प्रक्रियासम्मका कार्यक्रम आज
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबार दोस्रो दिनको बन्द सत्र विभिन्न महत्त्वपूर्ण एजेन्डासहित सञ्चालन हुँदैछ। आइतबारदेखि सुरु भएको महाधिवेशन असार ९ गतेसम्म चल्नेछ।
आजको बन्द सत्रमा पार्टीका विभिन्न प्रतिवेदन प्रस्तुत, छलफल तथा पारित गर्ने कार्यक्रम तय गरिएको छ। साथै नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि आजै औपचारिक रूपमा सुरु हुने कार्यतालिका रहेको छ।
कार्यक्रमअनुसार बिहान ८ः३० बजे पार्टी सभापतिले दोस्रो दिनको सत्र प्रारम्भ गर्नेछन्। त्यसपछि अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन्। लगत्तै कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल हुने कार्यक्रम छ।
चिया विश्रामपछि पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यसपछि सहमहामन्त्रीको अगुवाइमा पार्टी विधानमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।
महाधिवेशनको अर्को महत्त्वपूर्ण चरणअन्तर्गत पार्टी सभापतिले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि त्यसलाई पनि आजै पारित गर्ने तयारी गरिएको छ।
राजनीतिक प्रतिवेदन पारित भएपछि अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरिनेछ। त्यसलगत्तै आयोजक समितिले निर्वाचनसम्बन्धी सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
दिउँसो भोजन अवकाशपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियाबारे जानकारी गराउने तथा निर्वाचन तालिका सार्वजनिक गर्नेछ। त्यसपछिका सम्पूर्ण गतिविधि आयोगले जारी गर्ने सूचनाअनुसार अघि बढ्ने जनाइएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी राजनीतिक दिशा र संगठनात्मक संरचना तय गर्ने अपेक्षा गरिएको छ।









