युद्धले घटेको तेल उत्पादन पुनः बढाउँदै इराक, पुरानो अवस्थामा फर्किन दुई महिना लाग्ने
मध्यपूर्वमा भएको युद्धका कारण प्रभावित बनेको तेल उत्पादनलाई पुरानै अवस्थामा फर्काउन इराकलाई करिब एकदेखि दुई महिना लाग्ने भएको छ। इराकी अधिकारीहरूले युद्धका कारण रोकिएको उत्पादन विस्तारै पुनः सञ्चालनमा ल्याइएको बताएका छन्।
युद्धका क्रममा इरानले हर्मुज जलडमरूमा लगाएको नाकाबन्दीका कारण तेल निर्यात प्रभावित भएपछि इराकसहित प्रमुख तेल उत्पादक राष्ट्रहरूले उत्पादन कटौती गर्नुपरेको थियो। यसले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा व्यापक असर पारेको थियो।
तर हालै अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने समझदारी बनेपछि तेल बजारमा केही सकारात्मक संकेत देखिन थालेका छन्। यद्यपि दीर्घकालीन समाधानका लागि आवश्यक थप कूटनीतिक वार्ताहरू भने अझै निष्कर्षमा पुग्न सकेका छैनन्।
इराकको इन्धन मन्त्रालयका प्रवक्ता सलीम फरहुदका अनुसार उत्पादन क्षमता घटाइएका तेल क्षेत्रहरूमा पुनः उत्पादन बढाउने काम सुरु भइसकेको छ। उनका अनुसार आगामी एकदेखि दुई महिनाभित्र युद्धअघि कायम रहेको उत्पादन स्तरमा फर्किन सकिने अपेक्षा गरिएको छ।
युद्ध सुरु हुनुअघि इराकले दैनिक करिब ३५ लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। त्यसको ठूलो हिस्सा हर्मुज जलडमरूमार्फत विश्व बजारमा पुग्ने गरेको थियो। तर युद्ध चर्किएपछि अधिकांश तेल क्षेत्रको उत्पादन प्रभावित बनेको थियो भने टर्की र सिरियामार्फत सीमित मात्रामा निर्यात जारी राखिएको थियो।
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएपछि हर्मुज जलडमरू पुनः सञ्चालनतर्फ उन्मुख भएको छ। यससँगै इराकले तेल निर्यात बढाउने तयारी थालेको जनाएको छ।
इराकका तेलमन्त्री बासेम खोदैरले हर्मुज मार्ग सामान्य बन्दै गएसँगै तेल निर्यात क्रमशः वृद्धि हुने विश्वास व्यक्त गरेका छन्। सरकारी तथ्यांकअनुसार युद्धअघि मासिक औसत नौ करोड ३० लाख ब्यारेल तेल निर्यात हुने गरेकोमा अप्रिल महिनामा हर्मुज मार्गबाट करिब एक करोड ब्यारेल मात्र निर्यात भएको थियो।
तेल निर्यात इराकको अर्थतन्त्रको मुख्य आधार हो। देशको कुल सरकारी आम्दानीको करिब ९० प्रतिशत हिस्सा तेल क्षेत्रबाट आउने भएकाले उत्पादन र निर्यातको पुनःस्थापना इराकका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।









