ब्राउन सुगर र नगदसहित चन्द्रपुरबाट दुई जना पक्राउ
रौतहटको चन्द्रपुर नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) र नगद रकमसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले चन्द्रपुर–६ डावरीटोल क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिहीबार राति शंकास्पद अवस्थामा फेला परेका एक व्यक्तिको तलासी गर्दा उनले बोकेको पर्सभित्र कालो प्लास्टिकमा लुकाएर राखिएको २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। सोही क्रममा उनको साथबाट ३२ हजार २ सय ९० रुपैयाँ नगद पनि फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले उक्त लागुऔषध चन्द्रपुर–६ शान्तिनगरका अर्का व्यक्तिबाट खरिद गरेको बताएका थिए। त्यसपछि प्रहरीले थप अनुसन्धान गर्दै ती व्यक्तिलाई पनि नियन्त्रणमा लिएको हो।
दोस्रो व्यक्तिको साथबाट २२ हजार ३ सय रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट का अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।









