कक्षा १२ का एनजी विद्यार्थीका लागि साउन २ र ३ गते पूरक परीक्षा
कक्षा १२ को परीक्षामा नन्-ग्रेडेड (एनजी) प्राप्त गरेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २ र ३ गते पूरक परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।
तालिकाअनुसार साउन २ गते अनिवार्य अंग्रेजी विषय तथा एक विषय मात्र परीक्षा दिने विद्यार्थीहरूको परीक्षा हुनेछ। दुई विषयमा परीक्षा दिनुपर्ने विद्यार्थीका हकमा सानो कोड नम्बर भएको विषयको परीक्षा पनि सोही दिन सञ्चालन गरिनेछ। साउन ३ गते भने दुई विषय परीक्षा दिने परीक्षार्थीका लागि ठूलो कोड नम्बर भएको विषयको परीक्षा लिइने बोर्डले जनाएको छ।
बोर्डका अनुसार सैद्धान्तिकतर्फ अन्य सबै विषयमा न्यूनतम वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा दुई विषयमा एनजी प्राप्त गरेका अथवा अनुपस्थित भएका विद्यार्थीहरू पूरक परीक्षामा सहभागी हुन योग्य हुनेछन्।
परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीले असार १९ गतेभित्र ८०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। तोकिएको म्यादभित्र आवेदन दिन नसकेकाले असार २६ गतेसम्म १ हजार ६०० रुपैयाँ विलम्ब शुल्कसहित आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गरेको छ। बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। कुल ३ लाख ३२ हजारभन्दा बढी परीक्षार्थीमध्ये २ लाख ३१ हजारभन्दा बढी विद्यार्थीले सफलता हासिल गरेका छन्।
नतिजाप्रति असन्तुष्ट विद्यार्थीले प्रतिविषय १ हजार रुपैयाँ शुल्क तिरेर नतिजा प्रकाशित भएको सात दिनभित्र पुनर्योगका लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था पनि बोर्डले गरेको छ।









