जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा र पूर्वाधारमा विशेष जोड
पर्साको जिराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० करोड ८३ लाख रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ। १७औँ गाउँसभाबाट अनुमोदित बजेटमा शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।
गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभामा अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
प्रस्तावित बजेटअनुसार शिक्षा क्षेत्रमा २ करोड रुपैयाँ, स्वास्थ्यमा १ करोड रुपैयाँ, कृषिमा १ करोड ५० लाख रुपैयाँ, भौतिक पूर्वाधार विकासमा ५ करोड रुपैयाँ तथा सामाजिक क्षेत्रमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै, अध्यक्षस्तरीय योजनाका लागि ६० लाख रुपैयाँ, उपाध्यक्ष कार्यक्रमका लागि ६० लाख रुपैयाँ, प्रत्येक वडाका योजनाका लागि ६० लाख रुपैयाँ तथा कार्यपालिकास्तरीय योजनाका लागि २० लाख रुपैयाँ बजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले जानकारी दिए।
गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष अनोज चौधरीले जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमार्फत सेवा प्रवाह सुधार तथा समग्र विकासलाई गति दिने लक्ष्य रहेको उल्लेख गरे।
उपाध्यक्ष रेखा चौधरीले महिला, बालबालिका, किसान तथा विपन्न समुदायको जीवनस्तर उकास्न बजेटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। प्रमुख प्रशासकीय अधिकृत गिरीले पारदर्शिता, सुशासन र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै योजनाहरू समयमै सम्पन्न गरिने प्रतिबद्धता जनाए।
गाउँसभामा नीति, कार्यक्रम तथा बजेटमाथि विस्तृत छलफल गरी आवश्यक सुझावसहित अनुमोदन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ।









