‘परान’बाट नीर शाह उत्कृष्ट अभिनेता, ‘उनको स्वीटर’को दबदबा
राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८३ मा वरिष्ठ कलाकार नीर शाह उत्कृष्ट अभिनेताको अवार्डबाट सम्मानित भएका छन्। उनले फिल्म ‘परान’मा गरेको अभिनयका लागि उक्त सम्मान प्राप्त गरेका हुन्।
यस्तै, मिरुना मगर ‘उनको स्वीटर’बाट उत्कृष्ट अभिनेत्री घोषित भइन्। सोही फिल्मका निर्देशक नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड जित्दा ‘उनको स्वीटर’ले उत्कृष्ट फिल्मसहित तीन प्रमुख विधामा सफलता हासिल गर्दै समारोहमा आफ्नो वर्चस्व कायम गर्यो।
उत्कृष्ट लेखकतर्फ ‘परान’का दीपकप्रसाद आचार्य र यम थापा पुरस्कृत भए। प्राविधिक विधामा ‘कोशेढुंगा’ अगाडि रहँदा बाबु श्रेष्ठले उत्कृष्ट छायाङ्कन र नहकुल खड्काले उत्कृष्ट सम्पादनको अवार्ड हात पारे।
त्यस्तै, ‘इन्दिरा धिमे मैचा’ उत्कृष्ट आदिवासी चलचित्र घोषित भयो भने ‘नाक्छोङ’ले विशेष चलचित्र पुरस्कार प्राप्त गर्यो। समारोहमा चलचित्र क्षेत्रका विभिन्न कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो।










