विश्वकपमा क्यानडाको पहिलो जित, कतार ६ गोलले पराजित

कोल्हवी न्यूज
२०८३ असार ५, शुक्रबार ०६:३३ गते

हेटौंडा । सह–आयोजक क्यानडाले फिफा विश्वकप फुटबलमा आफ्नो इतिहासकै पहिलो जित दर्ता गर्दै नकआउट चरणतर्फ बलियो कदम बढाएको छ। बिहीबार राति सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा क्यानडाले कतारलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो।

घरेलु समर्थकको उत्साहपूर्ण साथ पाएको क्यानडाले खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै कतारलाई दबाबमा राख्यो। क्यानडाको जितमा स्ट्राइकर जोनाथन डेभिड नायक बने। उनले उत्कृष्ट ह्याट्रिक गर्दै टोलीको सानदार जितमा महत्वपूर्ण योगदान दिए।

क्यानडाले लगातार आक्रमण बुन्दै कतारी रक्षापङ्क्तिलाई कमजोर बनायो। बल नियन्त्रणदेखि गोल गर्ने अवसर सिर्जनासम्म क्यानडा हावी रहँदा कतारले प्रभावशाली प्रदर्शन गर्न सकेन।

दोस्रो हाफमा खेल झन् तनावपूर्ण बनेको थियो। कतारका दुई खेलाडीले रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा सीमित भयो। त्यही क्रममा क्यानडाका प्रमुख खेलाडी इस्माएल कोने गम्भीर घाइते भएपछि मैदानमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।

यो जितसँगै क्यानडाले दुई खेलबाट चार अंक जोडेको छ। उत्कृष्ट गोल अन्तरका कारण उसको अन्तिम १६ मा पुग्ने सम्भावना निकै बलियो बनेको छ। अब क्यानडाले समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

ऐतिहासिक जितपछि क्यानडाका प्रशिक्षक जेसी मार्सले टोलीको प्रदर्शनको प्रशंसा गर्दै समर्थकलाई धन्यवाद दिएका छन्। खेलपछि स्टेडियममा उपस्थित हजारौं समर्थकले जितको उत्सव भव्य रूपमा मनाएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*