रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु, चालक पक्राउ

कोल्हवी न्यूज
२०८३ असार ४, बिहीबार १६:४७ गते

रौतहटको गढीमाई नगरपालिका–२ समनपुर बजार क्षेत्रमा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। गरुडा–समनपुर सडकखण्डमा बिहीबार दिउँसो ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षीय रामानन्द महराले ज्यान गुमाएका हुन्।

प्रहरीका अनुसार समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्र्याक्टरले सोही दिशामा अघि बढिरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका गढीमाई नगरपालिका–४ सुन्दरपुर निवासी महराको ढाड तथा शरीरका संवेदनशील भागमा चोट लागेको थियो।

घटनापछि उनलाई तत्काल गरुडास्थित अस्पतालमा उपचारका लागि लगिएको थियो। अवस्था जटिल भएपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको भए पनि बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। दुर्घटनामा संलग्न ट्र्याक्टरका चालक, गरुडा नगरपालिका–५ निवासी ३९ वर्षीय रामकिशुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकले मदिरा सेवन नगरेको र उनीसँग वैध सवारी चालक अनुमति पत्र रहेको देखिएको छ। यता, दुर्घटनापछि मोटरसाइकल चालक सम्पर्कविहीन भएकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*