रौतहटमा एक महिनामै १ करोड ४३ लाखका अवैध सामान बरामद

कोल्हवी न्यूज
२०८३ असार ३, बुधबार १६:३६ गते

जिल्ला प्रहरी कार्यालय रौतहट ले पछिल्लो एक महिनाको अवधिमा १ करोड ४३ लाख ५८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको जनाएको छ। जेठ महिनाभर सञ्चालन गरिएको विशेष निगरानी तथा नियन्त्रण अभियानका क्रममा उक्त परिमाणका सामान नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी प्रमुख सिताराम रिजाल का अनुसार बरामद सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ। तस्करीमा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने तीन वटा सवारीसाधन पनि नियन्त्रणमा लिइएको छ।

प्रहरी तथ्यांकअनुसार जेठ महिनामा जिल्लाभर विभिन्न प्रकृतिका ११९ वटा मुद्दा दर्ता भएका छन्। ज्यानसम्बन्धी, चोरी, आर्थिक अपराध, सामाजिक अपराध, महिला तथा बालबालिकासम्बन्धी तथा सवारी ज्यानसम्बन्धी मुद्दा उल्लेख्य संख्यामा रहेका छन्। गम्भीर अपराधतर्फ कर्तव्य ज्यान, हातहतियार, बैंकिङ कसुर, हुण्डी र ठगीसम्बन्धी ३२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

फैसला कार्यान्वयन अभियानअन्तर्गत १७० जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १० वर्षभन्दा बढी बराबरको कैद असुल गरिएको तथा ३४ लाख ७३ हजार रुपैयाँभन्दा बढी जरिवाना संकलन गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण अभियानमा प्रहरीले तीन वटा मुद्दा दर्ता गर्दै चार जनालाई पक्राउ गरेको छ। सो क्रममा १८९ किलोभन्दा बढी गाँजा र केही मात्रामा ब्राउन सुगर बरामद गरिएको छ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सात वटा मुद्दा टुंग्याउँदै पीडितलाई २६ लाख ८५ हजार रुपैयाँ नगद तथा ७ कठ्ठा १५ धुर जग्गा फिर्ता गराइएको प्रहरीले जनाएको छ।

यस्तै ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५९ सवारीसाधनमाथि कारबाही गर्दा ९ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। सोही अवधिमा ८२ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र १२२ जना घाइते भएका छन्।

प्रहरीका अनुसार समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ९२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाउन ६ हजारभन्दा बढी गस्ती परिचालन गरिएको पनि जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*