जापानको शानदार पुनरागमन, नेदरल्याण्ड्ससँग २–२ को रोमाञ्चक बराबरी
विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एफ’ मा जापानले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै नेदरल्याण्ड्सलाई २–२ गोलको बराबरीमा रोकेको छ। डलासस्थित एटी एण्ड टी स्टेडियममा सोमबार बिहान भएको प्रतिस्पर्धामा दुई पटक पछाडि परेको जापानले हार टार्दै महत्वपूर्ण एक अंक हात पारेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा चार गोल सम्भव भए। ५१औँ मिनेटमा कप्तान भर्जिल भान डिज्कले हेडरमार्फत गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए। तर जापानले सात मिनेटपछि नै जवाफ फर्कायो। ताकेफुसा कुबोको पासमा केइटो नाकामुराले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्याए।
६४औँ मिनेटमा क्राइसेन्सियो समरभिलले सुन्दर गोल गर्दै डच टोलीलाई पुनः २–१ ले अगाडि बढाए। जिततर्फ उन्मुख देखिएको नेदरल्याण्ड्सलाई अन्तिम समयमा जापानले झट्का दियो। ८८औँ मिनेटमा डाइची कामदाले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै खेल २–२ को बराबरीमा टुङ्ग्याए।
बराबरीसँगै नेदरल्याण्ड्सको अपराजित यात्रा १७ खेलसम्म पुगेको छ। यद्यपि दुई पटक अग्रता लिएर पनि जित निकाल्न नसक्दा टोली निराश बनेको छ।
खेलपछि जापानका प्रशिक्षक हाजिमे मोरियासुले खेलाडीहरूको धैर्यता र संघर्षको प्रशंसा गर्दै कठिन अवस्थामा पनि अवसरको सदुपयोग गर्न सफल भएको बताए। नेदरल्याण्ड्सका कप्तान भान डिज्कले भने अन्तिम समयमा गोल खाएर अंक गुमाउनु निराशाजनक भएको प्रतिक्रिया दिए।
डच प्रशिक्षक रोनाल्ड कोम्यानले जापानलाई कम आँक्नु ठूलो भूल हुने उल्लेख गर्दै टोलीको प्रदर्शनको प्रशंसा गरे।
यो नतिजापछि समूह ‘एफ’ को प्रतिस्पर्धा थप रोचक बनेको छ। अब नेदरल्याण्ड्सले स्वीडेनसँग खेल्नेछ भने जापानले ट्युनिसियाको सामना गर्ने तालिका छ।









